



काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा महरले २०६३ को ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै भने, ‘जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको दिन हो आज। लोकतन्त्र केवल उपलब्धि होइन, निरन्तर जिम्मेवारी हो।’
उनका अनुसार लोकतान्त्रिक व्यवस्थाले संस्थागत उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन। जनविश्वास कमजोर हुँदा राजनीतिक सन्तुलनमा परिवर्तन आउने संकेतलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए।
महरले राज्य संरचनामा देखिँदै गएको केन्द्रीकरण र अधिकार संकुचनप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको मूल मर्म विकेन्द्रीकरण, सहभागिता र उत्तरदायित्व भएको स्पष्ट पारे।
सुकुम्बासी तथा भूमिहीन समुदायको विषय उठाउँदै उनले भने, ‘दीगो व्यवस्थापन बिना हुने विस्थापन लोकतान्त्रिक राज्यको संवेदनशीलता र न्यायमाथिको प्रश्न हो।’
उनले बढ्दो महँगी, बेरोजगारी र कमजोर सेवा प्रवाहका कारण जनजीविका थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सरकारको ध्यान पर्याप्त नभएको टिप्पणी गरे।
महरले सरकारलाई अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी लगायत संवेदनशील वर्गप्रति न्यायपूर्ण र दीगो नीति अवलम्बन गर्न आग्रह गर्दै भने, ‘यी विषयमा ढिलाइ भयो भने लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन सक्छ।’
नैनसिंह महर



