Logo
२१ वैशाख २०८३, सोमबार

नागरिकलाई घरबारविहीन हुन दिइँदैन : प्रधानमन्त्री बालेन शाह

अक्षरपाटी
२०८३ वैशाख २१ , सोमबार १०:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने स्पष्ट पारेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई लक्षित गरी नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेकोप्रति सरकार गम्भीर रहेको बताएका हुन्।

उनले सरकार प्रत्येक नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि नागरिकलाई घरबारविहीन बनाउने उद्देश्य नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहका अनुसार दीर्घकालीन समाधानमा अवरोध मानिएका भूमिसम्बन्धी ऐन, २०२१ का केही प्रावधानहरू अध्यादेशमार्फत खारेज गरिएको छ। यससँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा अभिलेख तयारीको काम सुरु गरिएको उनले जानकारी दिए।

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी जग्गामा भएको अतिक्रमण व्यवस्थापनका क्रममा विभिन्न टिप्पणी र भ्रम फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले यस्तो अवस्थाबाट नागरिकमा अनावश्यक त्रास सिर्जना गरिएको बताए।

सरकारले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षित स्थानान्तरण गर्ने तथा अन्य भूमिहीन नागरिकका हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिने जनाएको छ।

प्रधानमन्त्री शाहले सरकारका कदमहरू नागरिकलाई हटाउने नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान खोज्ने उद्देश्यले अघि बढाइएको स्पष्ट पार्दै अपुष्ट सूचना नफैलाउन र भ्रममा नपर्न नागरिकलाई आग्रह गरेका छन्।

https://www.facebook.com/balenOfficial/posts/1537442544414662?ref=embed_post

प्रधानमन्त्री बालेन शाह