



धनगढी। बर्दियाको नेम्स क्लब ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ।
कैलालीको कैलारी गाउँपालिकामा श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भइरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा जित हात पार्दै नेम्स क्लब उपाधि भिडन्तमा पुगेको हो।
कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा नेम्सले संघर्ष युवा क्लब मालाखेतीलाई टाईब्रेकरमा ३–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। यसअघि निर्धारित समयमा दुबै टोलीले दुई दुईको बराबरी खेलेका थिए।
फाइनल पुगेको नेम्सले अब उपाधिका लागि आयोजक श्री युवा जनहित क्लब र भजनी युवा क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवर्वद्धकका रूपमा रहेको छ। साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवर्द्धनमा सहयोग गरेका छन्।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ। फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएछन्।
नेम्स क्लब भजहर कप



