Logo
१९ जेठ २०८३, मंगलबार

अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरू

अक्षरपाटी
२०८३ जेठ १९ , मंगलबार ०३:०६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किरहेका बेला प्रतिनिधिसभाको बैठक सुरू भएको छ।

प्रधानमन्त्री शाहले आइतबार संसद्मा नेपाल–भारत सीमाका विषयमा दिएको भनाइप्रति प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले आपत्ति जनाएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्टिकरण वा माफी नमागेसम्म संसद् चल्न नदिने अडान लिएका छन्।

यसअघि सोमबार बसेको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकी स्थगित भएको थियो।

विपक्षी दलहरूको सम्भावित विरोधका बीच संसद् सचिवालयले मंगलबारको बैठकका लागि कार्यसूची सार्वजनिक गरेको छ। कार्यसूचीअनुसार बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद् बैठकमा विपक्षी दलहरूको अवरोध जारी रहने वा सहमतिमार्फत बैठक अघि बढ्ने भन्ने विषयमा चासो बढेको छ।

प्रतिनिधिसभा बैठक

ट्रेन्डिङ ( साप्ताहिक )