


धनगढी । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका फाइबर टु द होम (एफटिटिएच) सेवाका ग्राहक संख्या ११ लाख पुगेको छ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ११ लाख एफटिटिएच ग्राहकको उपलब्धिसँगै नेपालको एफटिटिएच बजारमा करिब ३५ प्रतिशत हिस्सा कायम गरेको जनाएको छ।
सन् १९९५ मा इमेल सेवाबाट यात्रा सुरु गरेको वर्ल्डलिंकले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै आफ्ना सेवा विस्तार गर्दै आएको जनाएको छ। डायल–अप, केबल र वायरलेस इन्टरनेट सेवा हुँदै कम्पनीले सन् २०१५ देखि एफटिटिएच सेवा सञ्चालनमा ल्याएको थियो। त्यसयता देशभर उच्च गतिको फाइबर इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार हालै वाइफाई–६ प्रविधि पनि सञ्चालनमा ल्याइएको छ। यस प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, न्यून विलम्बता (लो लेटेन्सी) तथा एकै समयमा धेरै उपकरण जडान हुँदा पनि प्रभावकारी सेवा प्रदान गर्ने दाबी गरिएको छ।
वर्ल्डलिंकले हाल नेपालका ७४ जिल्लामा सेवा विस्तार गरिसकेको जनाएको छ। हिमाली क्षेत्रदेखि तराईसम्म तथा जुम्लादेखि अन्नपूर्ण आधार शिविरसम्म फाइबर इन्टरनेट सेवा विस्तार गरेर डिजिटल पहुँच बढाउने प्रयासलाई निरन्तरता दिइएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार ३१ वर्षभन्दा बढीको सेवायात्रामा गुणस्तरीय सेवा, आधुनिक प्रविधि, सुदृढ नेटवर्क पूर्वाधार र ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको छ।
११ लाख ग्राहकको उपलब्धि केवल व्यावसायिक माइलस्टोन मात्र नभई ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा सरोकारवालाले गरेको विश्वास र सहकार्यको प्रतिफल भएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीनतम प्रविधि, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर नेपालको डिजिटल रूपान्तरणमा योगदान दिँदै जाने प्रतिबद्धता जनाएको छ।
वर्ल्डलिंक कम्युनिकेसन्स

