Logo
२० जेठ २०८३, बुधबार

नवजीवन अस्पतालमा उपचाररत युवतीको मृत्यु, चिकित्सकमाथि लापरवाहीको आरोप

अक्षरपाटी
२०८३ जेठ २० , बुधबार १०:०६ मा प्रकाशित

धनगढी । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएपछि आफन्तजनले चिकित्सकको लापरवाहीका कारण घटना भएको आरोप लगाएका छन्।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–६ निवासी २२ वर्षीया सानु बिक रहेकी छन्। प्रहरीका अनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि उनी नवजीवन अस्पतालमा भर्ना भएकी थिइन्। गत जेठ ९ गते शल्यक्रिया (अपरेसन) सम्पन्न भएपछि उनी डिस्चार्ज भएर घर फर्किएकी थिइन्।

तर, स्वास्थ्यमा पुनः समस्या देखिएपछि मंगलबार उनलाई पुनः अस्पताल ल्याइएको थियो। मुखबाट रगत बग्न थालेपछि अस्पतालमा भर्ना गरिएकी बिकलाई आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा बुधबार बिहान २ः४६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

युवतीको मृत्यु भएपछि आफन्तजनले उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। घटनापछि अस्पताल क्षेत्रमा तनाव उत्पन्न भएको छ।

स्थिति नियन्त्रणमा लिन तथा सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

धनगढी नवजीवन अस्पताल