



काठमाडौं । ललितपुरस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको स्कर्पियो गाडी चोरी भएको छ।
प्रहरीका अनुसार ठेचो क्षेत्रमा पार्किङ गरिएको उक्त स्कर्पियो मध्यरातिमा चोरी भएको हो। गाडी हराएपछि सम्बन्धित पक्षले प्रहरीमा उजुरी दिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख (एसपी) गौतम मिश्र ले चोरी भएको गाडीको खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार विभिन्न प्राविधिक माध्यम तथा उपलब्ध प्रमाणहरूको विश्लेषण गरी अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो चलाएर लगेको देखिएको जनाएको छ। घटनापछि गाडीका चालकसँग पनि सोधपुछ गरिएको छ। चालकले भने आफू राति सुतेको अवस्थामा गाडी चोरी भएको र घटनाबारे थप जानकारी नभएको बताएका छन्।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान तथा गाडीको खोजीका लागि अनुसन्धान जारी राखेको जनाएको छ।
गाडी चोरी गोदावरी नगरपालिका


