



काठमाडौं। सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले किसानका उत्पादनलाई सिधै बजारसँग जोड्दै उपभोक्तालाई गुणस्तरीय तथा सुपथ मूल्यमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने अभियानलाई तिव्रता दिएको छ।
देशभर सञ्चालनमा रहेका १८ वटा बिक्री केन्द्रमार्फत कर्पोरेशनले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै उपभोक्तालाई सहज र सुलभ सेवा प्रदान गर्दै आएको हो।
कर्पोरेशनका प्रबन्धक प्रज्वल प्रधानका अनुसार काठमाडौं उपत्यका र बाहिरका विभिन्न स्थानमा सञ्चालित बिक्री केन्द्रहरूबाट खाद्यान्न, दाल, चामल, मसला, पिठो, ग्यास, इन्डक्सन चुल्हो, बिस्कुट, साबुन तथा अन्य दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेका छन्।
हाल कर्पोरेशनले कालिमाटी, सतुंगल, बालाजु, पाटन, इमाडोल, शिफल, कापन, महाराजगञ्ज, कोटेश्वर, काडाघारी, जोरपाटी, कौशलटार, भक्तपुर, बनेपा, धुलिखेल, नुवाकोट, धनगढी र नारायणघाटमा बिक्री केन्द्र सञ्चालनमा गरिरहेको छ। यी केन्द्रहरुमा दैनिक उपभाेक्ताको आकर्षण बढ्दो देखिन्छ।
विगत एक वर्षदेखि साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट नियमित किनमेल गर्दै आएकी उपभोक्ता पुष्पा बलायर भन्छिन्, ‘यहाँ पाइने सामान गुणस्तरीय, ताजा र बजारको मूल्यभन्दा सस्तो पाइन्छ। त्यसैले खाद्यान्नदेखि दैनिक उपभाेगका सामग्री म यहीँबाट किन्न थालेकी हुँ।’
साल्ट ट्रेडिङले विशेष गरी दुर्गम तथा पहाडी जिल्लाका किसानहरुबाट उत्पादन संकलन गरेर उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाएको छ। बिक्री केन्द्रहरूमा जुम्लाको फापर, कोदो, चिनो, कागुनो, रैथाने सिमी, माथिल्लो डोल्पाको जिम्बु, बैतडीको सेतो भटमास, सिन्धुपाल्चोकको राजमा, लुक्लाको सिमी, पाँचथरको मस्याङलगायत विभिन्न रैथाने उत्पादन उपलब्ध छन्।
बजारमा रैथानेको नाममा हाइब्रिड उत्पादन बिक्री हुने प्रवृत्ति बढिरहेका बेला साल्ट ट्रेडिङले किसानकै खेतबाट उत्पादन संकलन गरेर उपभोक्तासम्म पुर्याउने भएकाले उत्पादनको गुणस्तर र विश्वसनीयता बढ्दै गएको प्रबन्धक प्रधान बताउँछन्।
त्यसबाहेक साल्ट ट्रेडिङले बिस्कुट, साबुन, चिनी, मैदा, नुन, ग्यासलगायत घरायसी आवश्यकताका सामग्री समेत बिक्रीवितरण गर्दै आएको छ।
कर्पोरेशनले बिक्री केन्द्रमा मात्रै सीमित नरही विभिन्न टोल तथा हाउजिङ क्षेत्रमा घुम्ती बिक्री सेवा समेत सञ्चालन गर्दै आएको प्रबन्धक प्रधानले अक्षरपाटीसँग बताए। यसबाट उपभोक्ताले आफ्नो आगनमै सहज रूपमा सेवा प्राप्त गरिरहेका छन्।
कर्पोरेशनको कारोबार पनि उल्लेखनीय रूपमा बढिरहेको छ। चालु आर्थिक वर्षको जेठ १ गतेदेखि २१ गतेसम्मको अवधिमा मात्रै देशभरका १८ बिक्री केन्द्रबाट ३ करोड २५ लाख रुपैयाँभन्दा बढी बराबरको कारोबार भएको छ।
उक्त कारोबारमा खाद्यान्न, रैथाले दाल, पिठो, मसला, चामल, ग्यास, इन्डक्सन, खाद्यान्न, बिस्कुट, साबुन तथा अन्य उपभोग्य सामग्री प्रमुख रहेको बताइएको छ।
हाल कर्पोरेशनका १८ वटै बिक्री केन्द्रबाट दैनिक २० लाख रुपैयाँभन्दा बढीको खुद्रा कारोबार गरिरहेको प्रबन्धक प्रधानले बताए। त्यसबाहेक थोक बिक्रेताले खरिद गर्ने कारोबारको रकम यो भन्दा ठूलो छ।
यसले एकातर्फ किसानका उत्पादनलाई बजारको अभाव कम गर्दै गएकाे छ भने अर्कोतर्फ उपभोक्तालाई गुणस्तरीय खाद्यान्न सहज रूपमा उपलब्ध गराएको छ।
स्थानीय किसानको उत्पादनलाई बजार सुनिश्चित गर्ने, उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउने तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसहित साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरिरहेको कार्यक्रमले किसान र उपभोक्ता दुवैलाई प्रत्यक्ष लाभ पुर्याइरहेको उपभाेक्ताहरुको भनाइ छ।
यसले आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण र स्वदेशी उत्पादनको प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन


