



गोरखा। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले सार्वजनिक पदमा रहँदा आफूमाथि उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताएका छन्।
सांसद गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताए।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। त्यस क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।’
‘छानविन समितिको पनि सम्पत्ति छानबिन गरौँ न भनिदिएँ’
बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भने, ‘समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।’
उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।
दुई महिना तस्बिर खिच्न नआउनू
आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति गुरुङले सङ्केत गरे।
उनले भने, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।’ उनले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको बताए।
पार्टी नेतृत्वलाई सुझाव
सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि धारणा राखे। अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उनको तर्क थियो।
‘अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,’ गुरुङले भने, ‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन।’
सुधन गुरुङ


