Logo
१७ जेठ २०८३, आईतबार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चाैतर्फी आलोचना

अक्षरपाटी
२०८३ जेठ १७ , आईतबार ०६:०५ मा प्रकाशित

राजनीतिक, कूटनीतिक क्षेत्रदेखि आम समुदाय तरंगित

काठमाडाैं। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा दिएको अभिव्यक्तिको चाैतर्फी आलोचना भएको छ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा भनेका थिए-‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ। त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौँ।’

शाहको उक्त अभिव्यक्ति तथ्यहीन भएकाे नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिक्रिया दिएका छन्। राईले भने- ‘प्रधानमन्त्री शाहको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन छ।’

उनले सार्वभौम संसद्‍मा प्रधानमन्त्री शाहले बिना तथ्य कुरा गर्नु अशोभनीय भएको समेत बताए।

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति पछि राजनीतिक, कूटनीतिक क्षेत्रदेखि आम समुदाय तरंगित बनेको हो।

शाहको अभिव्यक्तिलाई लिएर भारतका लागि पूर्वराजदूत तथा नेपाल भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी) का सदस्य नीलाम्बर आचार्यले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले भारतसँगको सीमा विवाद समाधान प्रक्रियामा नेपालको कूटनीतिक अडानलाई कमजोर बनाउने बताए।

उनले एक अन्तर्वार्तामा भनेका छन्- ‘कालापानी-लिम्पियाधुरामा भएको राज्यस्तरको सैन्य अतिक्रमण र अन्य सीमा क्षेत्रमा स्थानीय बासिन्दाहरूबीच भोगचलनको क्रममा हुने जग्गाको घरायसी खिचोला नितान्त फरक कुरा हुन्। कूटनीति र देशको सीमा जस्तो संवेदनशील विषयमा यसरी सतही रूपमा बोल्दा राष्ट्रिय हितमा आँच पुग्छ।’

त्यस्तै कानुनविद् डा. भिमार्जुन आचार्यले पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्- ‘संसद् र संसद् बाहिर आजसम्म कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आलोचना गरेका छन्। उनले प्रधानमन्त्रीलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएकाे धारणा राखेका छन्।

‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसद्‍मा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार छैन’, नेता रावलले भनेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन्।

उनले भनेका छन्- ‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ! संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरूरी हुन्छ! ‘सरकार बालेन’ को मत प्रधान कि ‘व्यक्ति बालेन´ को मत मुख्य ? रास्वपाको धारणा के हो ?’

बालेन शाह