



कैलाली। गोदावरी नगरपालिका–३ कैलालीमा रहेको गोदावरी नदीमा बगेर दुई महिलाको मृत्यु भएको छ। एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको स्थानीय प्रहरीले जनाएको छ।
आज बिहान उनीहरु जंगलमा च्याउ टिप्न गएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
बाढीमा परेर गोदावरी नगरपालिका–४ कि ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमलाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक र साउँदको शव वनदेवी मन्दिर नजिक फेला परेको थियो।
आज बिहान पौने ७ बजेतिर गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जना बगाएको जानकारी प्रहरीलाई दिएका थिए।
सोही सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। उनीहरुको शव प्रहरीले निकालेर थप अनुसन्धान भइरहेको बताइएको छ।
बाढीले बगायो


