Logo
२ असार २०८३, मंगलबार

मध्यरातमा सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट सार्वजनिक, प्रतिपक्षको आरोप– ‘मध्यरातको नाटक’

अक्षरपाटी
२०८३ असार २ , मंगलबार १०:०६ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले सोमबार मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सभा बैठक बेलुका ५ बजेका लागि बोलाइएको भए पनि बजेटका विषयमा सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएपछि बैठक पटक–पटक स्थगित हुँदै मध्यरातसम्म पुगेको थियो।

सरकारले आगामी वर्षको बजेटमा कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको जनाएको छ। गत आर्थिक वर्ष प्रदेश सरकारले ३३ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको थियो।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ। यस्तै नेपाल सरकारबाट राजस्व बाँडफाँडमार्फत १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ, संघीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

बजेटका लागि संघीय वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, संघीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ तथा संघीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको बाँकी मौज्दात ९ अर्ब ६५ करोड रुपैयाँ रहेको सरकारको भनाइ छ।

उता, सरकारले मध्यरातमा बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक बहिस्कार गरेका छन्। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी सांसदहरूले बजेट प्रस्तुतिको समयलाई लिएर विरोध गरेका हुन्।

बैठकको सुरुमै समय लिएर बोल्दै नेकपाका सांसद मानबहादुर धामीले मध्यरातमा बजेट ल्याएर सरकारले ‘नाटक’ गरेको आरोप लगाए। प्रतिपक्षी दलले बजेट प्रक्रियालाई अपारदर्शी र अस्वाभाविक भएको टिप्पणी गर्दै बैठक अवरुद्ध गरेका थिए।

बजेट सार्वजनिक सुदूरपश्चिम प्रदेश सरकार

ट्रेन्डिङ ( साप्ताहिक )