



चितवन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनापछि पहिलोपटक आफ्नो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। आजदेखि पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन चितवनमा सुरु हुन लागेको हो।
देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति तय गर्नेछ।
महाधिवेशनलाई रास्वपाको संगठन विस्तार र नीति निर्माणका दृष्टिले सँस्थागत गर्ने महत्त्वपूर्ण अवसर मानिएको छ। पार्टीका शीर्ष नेता, प्रतिनिधि तथा हजारौँ कार्यकर्ताको उपस्थितिमा हुने महाधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
पार्टी सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आइपुग्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, गृहमन्त्री सुधन गुरुङ् महाधिवेशन स्थलमा पुगिसकेका छन्। उनले कार्यक्रमस्थलको अनुगमन समेत गरेका छन्।
महाधिवेशनबाट पार्टीले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्राको स्पष्ट खाका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी वालेन शाह


