Logo
१६ असार २०८३, मंगलबार

बिहीबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, पहिरो र डुबानको जोखिम बढ्ने

अक्षरपाटी
२०८३ असार १६ , मंगलबार ११:०६ मा प्रकाशित

काठमाडौं। देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आगामी तीन दिनसम्म विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार असार १६ देखि १८ गतेसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस तथा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले विपद्को जोखिम पनि बढ्ने अनुमान गरिएको छ।

आज देशका अधिकांश स्थानमा बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। साथै तराई तथा मधेसका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

बुधबार र बिहीबार पनि मौसम पूर्ण रूपमा बदली रहनेछ। देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको क्रम जारी रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम कायम रहने महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी पहाडी क्षेत्रमा भू–क्षय, पहिरो र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबान र बाढी को जोखिम बढ्ने जनाएको छ। लगातारको वर्षाले नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने, सडक यातायात अवरुद्ध हुन सक्ने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले वर्षायाममा अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नबस्न र मौसमसम्बन्धी आधिकारिक सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन पनि सबैमा अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभाग भारी वर्षाको सम्भावना

ट्रेन्डिङ ( साप्ताहिक )