


कैलाली । जोशीपुर गाउँपालिका अन्तर्गत जोशीपुर–राजीपुर नर्सरीस्थित सडकको दयनीय अवस्थाले स्थानीयवासी दैनिक सास्ती भोग्न बाध्य भएका छन्।
सडकमा धुलो, हिलो, खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्दै गएको भन्दै स्थानीयले तत्काल मर्मतको माग गरेका छन्।
स्थानीयका अनुसार यही सडक भएर हरेक दिन विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स, किसान, व्यापारी तथा सर्वसाधारण आवतजावत गर्ने गरेका छन्।
तर सडकको जीर्ण अवस्थाका कारण उनीहरूलाई दैनिक रूपमा कठिनाइ र जोखिम सामना गर्नुपरेको छ।
स्थानीयले नियमित रूपमा कर तिरे पनि आधारभूत पूर्वाधारको समयमै मर्मत तथा स्तरोन्नति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विकासका प्रतिबद्धता र भाषण धेरै भए पनि नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने विकास देखिन नसकेको उनीहरूको भनाइ छ।
स्थानीयवासीले जोशीपुर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गराउँदै जोशीपुर–राजीपुर नर्सरी सडकको तत्काल मर्मत गरी नागरिकका लागि सुरक्षित, सहज र भरपर्दो आवतजावतको व्यवस्था गर्न माग गरेका छन्।


