Logo
२६ असार २०८३, शुक्रबार

रहेनन् त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपाली

अक्षरपाटी
२०८३ असार २६ , शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौं २६ असार। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।

उपचारका क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा उपचाररत उनको चिकित्सकहरूले गरेको प्रयास सफल हुन नसकेपछि शुक्रबार निधन भएको हो।

मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीले बिहीबार दिउँसो राहदानी विभागको गेट नम्बर–३ अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

घटनालगत्तै त्यहाँ खटिएका प्रहरी र स्थानीयले आगो निभाएर उद्धार गरेका थिए भने उनलाई तत्काल वीर अस्पतालको बर्न युनिटमा भर्ना गरिएको थियो।

चिकित्सकहरूका अनुसार उनको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाका विभिन्न भागसहित करिब ६० प्रतिशत शरीर जलेको थियो।

गम्भीर जलनका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको भए पनि उनको ज्यान जोगाउन नसकिएको हो।

प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार महानगर प्रहरीले ‘नो पार्किङ’ क्षेत्रमा पार्क गरिएको भन्दै उनको मोटरसाइकलमा ह्विल लक लगाएको थियो। उनले आफ्ना दाजुलाई भने अनुसर त्यसैको तनावका कारण उनले आत्मदाहको प्रयास गरेको अनुमान गरिएको छ।

घटनापछि उनको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको थियो भने थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारीसमेत गरिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको हो।

आत्मदाह गणेश नेपाली