


धनगढी । २१३औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालाले आयोजना गरेको अन्तरविद्यालय कविता वाचन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
कैलाली–कञ्चनपुरका १६ विद्यालयका २९ विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो।
चैतन्य पाठशालाको सभाहलमा आयोजित कार्यक्रम शिक्षक–अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीको सभापतित्व तथा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष एवं साहित्यकार रामलाल जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रतियोगितामा चैतन्य पाठशालाकी सन्ध्या अवस्थी प्रथम, डिस्कभरी स्कुलका शिशिर ओझा द्वितीय, माइल स्टोन स्कुलकी अनुजा चौधरी तृतीय तथा पञ्चोदय माध्यमिक विद्यालयकी अञ्जली धानुक सान्त्वना स्थान हासिल गर्न सफल भए।
विजेताहरूलाई क्रमशः पाँच हजार १०५, तीन हजार ५०५, दुई हजार ५ र एक हजार ५ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबै २९ विद्यार्थीलाई सहभागिता प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताको निर्णायक मण्डलमा कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. वासुदेव बिष्ट, सहप्राध्यापक गणेशराज जोशी तथा साहित्यकार कोपिला शर्मा (कल्प) रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले नेपाली भाषा र साहित्य राष्ट्रको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताए।
यस्ता प्रतियोगिताले विद्यार्थीमा भाषिक दक्षता, सिर्जनात्मक सोच र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले उल्लेख गरे।
प्रमुख अतिथि साहित्यकार रामलाल जोशीले साहित्यले आँखाले नदेखेका यथार्थलाई समेत उजागर गर्ने क्षमता राख्ने बताउँदै कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनाले नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण र सम्भावना स्पष्ट देखाएको धारणा व्यक्त गरे।
विद्यालयस्तरमै देखिएको सिर्जनात्मक प्रस्तुति उत्साहजनक रहेको उनको भनाइ थियो।
कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै शिक्षक–अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले आदिकवि भानुभक्त आचार्यको योगदानको सम्मान तथा उहाँका विचारलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
भानुभक्तको देशप्रेम, समाजप्रेम र सकारात्मक सोचबाट प्रेरणा लिएर अघि बढ्न सके समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
उनले भानुभक्तले एउटा घाँसीबाट प्राप्त प्रेरणामार्फत आदिकविको उचाइ हासिल गरेको उदाहरण स्मरण गर्दै जीवनभर सिक्ने संस्कार अपनाउनुपर्ने सन्देश दिए।
चैतन्य पाठशालाले यस्ता कार्यक्रममार्फत समाजका प्रेरणादायी व्यक्तित्वबारे विद्यार्थीलाई जानकारी गराउने र जिम्मेवार तथा सचेत नागरिक बन्न प्रेरित गर्ने लक्ष्य राखेको पनि उनले बताए।
चैतन्य पाठशाल

