


जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोध मधेशका विभिन्न जिल्लामा फैलिन थालेपछि सिरहाको गोलबजारमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ भने जनकपुरधाममा प्रदर्शनका कारण बजार बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी गोलबजार नगरपालिकाको तोकिएको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला तथा जुलुस पूर्ण रूपमा निषेध गरिएको छ।
कर्फ्यू लागू भएसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
उता, धनुषाको जनकपुरधाममा पनि बिहानदेखि प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले रामानन्द चौक, पीडारी चोकलगायतका स्थानमा टायर बालेर विरोध जनाएका छन् भने बजार तथा व्यापारिक गतिविधि प्रभावित बनेका छन्।
प्रदर्शनका क्रममा जनकपुर तथा आसपासका क्षेत्रबाट आएका प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडपसमेत भएको जनाइएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायको उपस्थिति बढाइएको छ।
कप्तानगञ्जमा भएको घटनाप्रति विरोध जनाउँदै मधेशका विभिन्न जिल्लामा प्रदर्शन विस्तार भइरहेका छन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।
अनिश्चितकालीन कर्फ्यू बजार बन्द

