


काठमाडौँ। सामाजिक सद्भाव र भाइचाराका कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन्।
सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल थालेका हुन्।
त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन्।
उनीहरूले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका हुन्।
भेटमा पछिल्ला घटनाक्रम, सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्ने विषयमा छलफल भएको जनाइएको छ।
छलफलका क्रममा सुनसरी, सिराहा लगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शनलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न तथा समुदायबीच सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।
सभापति लामिछानेले धार्मिक तथा सामाजिक नेतृत्वले समाजमा शान्ति, सहिष्णुता र आपसी सद्भाव प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै संयमित अभिव्यक्ति र संवादमार्फत समस्या समाधानतर्फ अग्रसर हुन आग्रह गरेको बताइएको छ।
रास्वपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रकारको उत्तेजना वा विभाजनकारी गतिविधिभन्दा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिलाई प्राथमिकतामा राखेर सबै पक्षलाई जिम्मेवार ढंगले अघि बढ्न अपिल गरेको छ।
यसैबीच सबै धार्मिक अगुवाहरूले शान्ति र सद्भावका लागि मिडिया मार्फत संयुक्त रुपमा अपिल गर्ने कार्यक्रम रहेको छ।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

