


काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ।
नेपालमा रहेका भारतीय समुदाय तथा भारतका शुभेच्छुकहरू को सहभागितामा भएको कार्यक्रममा भारतीय राष्ट्रिय झण्डोत्तोलनसँगै विभिन्न सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको शुभारम्भ ‘वन्दे मातरम्’ गायनसँगै भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पनि प्रसारण गरिएको थियो।
सो अवसरमा भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती तथा निकटतम नातेदारलाई सम्मान गरिएको थियो। साथै, ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ अन्तर्गत कुल ८ करोड २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको राजदूतावासले जनाएको छ।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावासद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो।
‘विकसित भारत’ विषयमा चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै, नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान प्रदान गर्ने घोषणा गरिएको छ। यस पहलले शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने लक्ष्य राखेको दूतावासले जनाएको छ।
काठमाडौंमा आयोजित समारोहमा नेपालमा रहेका भारतीय समुदायका सदस्य, भारतका शुभेच्छुक, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो।
समारोहमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले जीवित सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए।
भारतीय दूतावास

