Logo
२ भदौ २०८३, मंगलबार

परम्परा तोड्दै भारतीय सेनाध्यक्षको मानार्थ समारोहमा गएनन् प्रधानमन्त्री

अक्षरपाटी
२०८३ भदौ २ , मंगलबार ११:०८ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएनन् ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उक्त समारोहमा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई चासोका रूपमा हेरिएको छ ।

नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशले मानार्थ सैन्य दर्जा प्रदान गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ । नेपालले भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’को दर्जा प्रदान गर्ने गरेको छ भने भारतले नेपाली सेनाका प्रधानसेनापतिलाई ‘मानार्थ जनरल’को दर्जा दिने गरेको छ ।

यो परम्परा सन् १९५० देखि सुरु भएको हो । पहिलोपटक भारतीय सेनाका तत्कालीन प्रमुख जनरल केएम करियप्पालाई नेपाली सेनाको मानार्थ जनरल अर्थात् महारथीको दर्जा प्रदान गरिएको थियो । नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५० को सन्दर्भमा सुरु भएको यो परम्परा हालसम्म निरन्तर छ ।

मानार्थ सैन्य दर्जाले कुनै कमान्ड वा अधिकार प्रदान गर्दैन । यो दुई देशबीचको सैन्य सम्बन्ध, पारस्परिक सम्मान र शिष्टाचारका रूपमा प्रदान गरिँदै आएको छ । नयाँ सेना प्रमुख नियुक्त भएपछि एकअर्काको देश भ्रमण गरी यस्तो सम्मान प्रदान गर्ने प्रचलन छ ।

नेपालका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि भारतले मानार्थ जनरलको दर्जा प्रदान गरिसकेको छ । १२ डिसेम्बर २०२४ मा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेकी थिइन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा चासो

नेपालमा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा प्रधानमन्त्रीसमेत सहभागी हुने अभ्यास रहँदै आएको थियो । तर, यसपटक प्रधानमन्त्री शाह समारोहमा सहभागी भएनन् ।

भारतमा भने नेपाली सेनाका प्रधानसेनापतिलाई मानार्थ जनरलको दर्जा प्रदान गर्दा प्रधानमन्त्री सहभागी हुने अभ्यास नरहेको बताइएको छ । प्रधानसेनापति अशोकराज सिग्देललाई मानार्थ जनरलको दर्जा प्रदान गर्दा भारतका रक्षामन्त्रीसमेत सहभागी नभई रक्षा राज्यमन्त्री सञ्जय सेठ मात्रै उपस्थित भएका थिए ।

नेपालमा अहिले रक्षामन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्री शाह आफैंले सम्हालिरहेका छन् । तर, भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका थिए ।

प्रधानमन्त्री शाह समारोहमा उपस्थित नभएको विषयलाई लिएर भारतीय पक्ष असन्तुष्ट बनेको चर्चा भए पनि यसबारे आधिकारिक रूपमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

नेपाली सेनाले पनि यस विषयमा टिप्पणी गर्न चाहेन । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले कार्यक्रम राष्ट्रपति कार्यालयको भएकाले आफूहरूलाई यसबारे जानकारी नहुने बताए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले भने मानार्थ समारोह भएकाले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य नरहेको बताए ।

‘हाम्रो तर्फबाट निमन्त्रणा त गरिएको हुन्छ । तर यो औपचारिक कार्यक्रम नभएर एउटा मानार्थ समारोह मात्रै हो । भारतमा पनि नेपालका सेनाप्रमुखलाई मानार्थ दिँदा प्रधानमन्त्री उपस्थित भएको देखिँदैन । त्यसैले अन्यथा लिनुपर्ने आवश्यकता छैन,’ उनले भने ।

भारतीय सेनाध्यक्ष धीरज सेठले भने आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार भारतीय सेनाध्यक्ष सेठले आज दिउँसो सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्ष मानार्थ समारोह