


काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय विस्तार गर्दै विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। बैठकले जगदीश खरेललाई प्रवक्ता, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ।
बैठकले सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, दीपकराज बोहरा, मनिष झा, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, समीक्षा बाँस्कोटा, शिव नेपाली र इन्दिरा रानामगरलाई समेटेको छ।
यस्तै, सभापति रवि लामिछानेको प्रस्तावमा ९ जना केन्द्रीय सदस्यसमेत मनोनित भएका छन्। केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाह मनोनित भएका छन्।
रास्वपाले जम्मा ५१ जना केन्द्रीय सदस्य मनोनित गर्नुपर्ने भए पनि शुक्रबारको बैठकबाट ९ जना मात्रै मनोनित गरेको हो। अझै ४२ जना केन्द्रीय सदस्य मनोनित हुन बाँकी छन्।
पार्टीमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पदमा मनोनयन हुन बाँकी छ । पार्टीको संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिने उद्देश्यले पछिल्लो बैठकबाट पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्यको संरचना विस्तार गरिएको रास्वपाले जनाएको छ।
केन्द्रीय समिति बैठक रास्वपा सचिवालय विस्तार

