


रसुवा । रसुवाको टिमुरे, स्याप्रुबेँसी आसपास क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा ठूलो बाढी आएको छ।
बाढीका कारण उक्त क्षेत्रमा क्षति पुगेको खबर आएपछि खोज तथा उद्धारका लागि सरकारी निकायहरूबीच आवश्यक समन्वय भइरहेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार आज बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी आएको हो।
बाढीको प्रभाव र त्यसबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त नभएको उनले बताए।
बाढीपछि स्थानीय प्रशासनले घटनास्थलको अवस्था बुझ्ने तथा सम्भावित जोखिममा रहेका नागरिकको उद्धारका लागि आवश्यक प्रयास गरिरहेको छ।
भन्सार कार्यालय तथा मातहतका निकायसँग पनि खोज तथा उद्धारलगायतका काममा समन्वय भइरहेको जनाइएको छ।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुषाल तथा अर्थ मन्त्रालय प्रशासनसहितको उच्चस्तरीय नेतृत्वबाट सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिइएको छ।
भोटेकोशीमा आएको बाढीका कारण नदीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्थानीय प्रशासनले नदी तथा खोलानजिक नजान, सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन अनुरोध गरेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाइएको छ।


