


कैलाली । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीका पाँच निजी अस्पतालले १८ लाख ५६ हजार ६५६ रुपैयाँ सहयोग गरेका छन्।
सरकारले विपद् प्रभावितका लागि सहयोग गर्न गरेको आह्वानअनुसार कैलाली अस्पताल, निसर्ग अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल र केयर टेकर अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्।
सहयोगमध्ये निसर्ग अस्पतालले ११ लाख ११ हजार १११ रुपैयाँ, मायामेट्रो अस्पतालले ३ लाख ११ हजार १११ रुपैयाँ, नवजीवन अस्पतालले २ लाख २२ हजार २२२ रुपैयाँ, कैलाली अस्पतालले १ लाख ११ हजार १११ रुपैयाँ र केयर टेकर अस्पतालले १ लाख १ हजार १०१ रुपैयाँ प्रदान गरेका छन्।
निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए।
उनले सरकारको आह्वानअनुसार अस्पतालको तर्फबाट सक्दो सहयोग गरिएको उल्लेख गर्दै उक्त रकमले बाढीपीडितको उद्धार तथा राहतमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले प्राकृतिक विपत्तिको समयमा निजी क्षेत्र पनि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।
उनका अनुसार विपद् कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभई सबैको साझा पीडा भएकाले यस्तो अवस्थामा राज्यलाई सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व हो।
रसुवाको बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला धनगढीका निजी अस्पतालहरूले गरेको सहयोगले स्वास्थ्य संस्था उपचार सेवामा मात्र नभई विपद्को समयमा मानवीय सेवामा समेत अग्रसर हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ।
कैलाली हस्पिटल

