



काठमाडौँ । काठमाडाैंमा एक सिलिन्डर ग्यास पाउन मुस्किल छ। मानिसहरु हप्ताैँदेखि एक सिलिन्डर ग्यासको खोजीमा भाैतारिएका छन्। यही बेला आयल निगमले मूल्य समेत बढाएर उपभोक्तालाई थप आजित बनाएको छ।
तर पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको जनाएको छ।
गएको भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ भित्र्याउन थालेको जनाएको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर उपत्यका भित्र्याइएको जनाएको छ। आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको जनाएको छ।
यसैबीच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।
उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।
ग्यास नेपाल आयल निगम

