



काठमाडौं । काठमाडौंस्थित मार्भलस इङ्लिस बोर्डिङ स्कुलले त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय क्षति तथा जनधनको क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोकसभा आयोजना गरेको छ।
सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक केशव लम्सालले बाढीका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे।
लम्सालले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रको पुन: स्थापनाका लागि प्रार्थना गरेका थिए।

प्राकृतिक विपत्तिको यस दुःखद् घडीमा पीडित परिवारप्रति सहानुभूति र सहयोगको हात बढाउनुपर्नेमा विद्यालय परिवारले अपिल गरेको छ।
सरकारको राष्ट्रिय शोकसम्बन्धी निर्णयको सम्मान गर्दै विद्यालयका उप–प्राचार्य आलोक बोहोराले विद्यालय परिसरमा रहेको राष्ट्रिय झण्डा आधा झुकाएका थिए।

शोकसभाका क्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको विद्यालयले जनाएको छ।



