Logo
२६ भदौ २०८३, शुक्रबार

सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान विस्तारसम्म नर्भिकको ३०० करोडको योजना

अक्षरपाटी
२०८३ भदौ २६ , शुक्रबार ११:०९ मा प्रकाशित

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवाको विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

सभामा अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै निर्माणाधीन अस्पताल भवन आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट सेवा विस्तार गर्ने जानकारी दिए।

नर्भिकले स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि ५० शय्याको नर्भिक सिटी हस्पिटल सञ्चालनमा ल्याउने योजना अघि सारेको छ। सिटी हस्पिटलबाट ओपीडी, आकस्मिक, क्रिटिकल केयर, आईपीडी, अप्रेसन थिएटरसहित प्याथोलोजी, यूएसजी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपी सर्जरी र एक्सरेलगायत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

अस्पतालका सीईओ अजयकुमार मिश्रका अनुसार सिटी हस्पिटलका सेवा नर्भिकभन्दा थप सुलभ र स्थानीय सर्वसाधारणको पहुँचमा हुने बताइएको छ।

त्यस्तै, अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापनाको प्रक्रिया अघि बढाइएको छ। करिब ३०० करोड अनुमानित लागत रहेको उक्त परियोजनामा संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरी नेतृत्व सल्लाहकारका रूपमा रहेका छन्।

नर्भिकले घरमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ‘नर्भिक एट होम’ सेवा पनि सञ्चालन गर्ने भएको छ। प्रारम्भमा होम हेल्थ केयर र जेरियाट्रिक सेवाबाट यसको सुरुवात गर्ने योजना रहेको अस्पतालले जनाएको छ।

हाल काठमाडौं उपत्यकामा १५ शाखा रहेको नर्भिक फार्मेसीका शाखा चालु आर्थिक वर्षमा उपत्यकाभित्र १८, उपत्यका बाहिर १५ र फ्रेन्चाइज मोडलमा ६ गरी कुल ५४ शाखा पुर्‍याउने लक्ष्य राखिएको छ। आगामी दुई वर्षभित्र शाखा संख्या १०० पुर्‍याउने योजना अस्पतालले अघि सारेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनसपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्तावसमेत पारित भएको छ।

नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले चुनौतीपूर्ण परिस्थितिका बाबजुद संस्थाले उत्साहजनक आर्थिक सूचक प्रस्तुत गर्न सफल भएको बताउँदै स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा लगानी विस्तार गरिने जानकारी दिए। सञ्चालक मेधा चौधरीले नर्भिकलाई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित र दिगो स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने बताइन्।

वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा नर्भिकले ओपीडीमा १ लाख ७९ हजार, आईपीडीमा ९ हजार र आकस्मिक सेवामा ६ हजार बिरामीलाई सेवा दिएको छ। साथै ४१ हजार सेवाग्राहीलाई विभिन्न देशका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको छ।

फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड र खुद नाफा ४७ करोडभन्दा बढी रहेको छ। फार्मेसीसहित कुल आम्दानी ३ अर्ब ४७ करोड र खुद नाफा ४७ करोड ८५ लाखभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

नर्भिकले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य शिविर र विपन्न वर्ग लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा नर्भिकका तर्फबाट १ करोड सहयोग गरिएको जानकारीसमेत सभामा दिइएको थियो।

नर्भिक इन्टरनेशनल हस्पिटल

ट्रेन्डिङ ( साप्ताहिक )