Logo
३० कात्तिक २०८३, सोमबार

विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाए कडा कारबाही

अक्षरपाटी
२०८३ भदौ ३१ , बुधबार ०८:०९ मा प्रकाशित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने गतिविधि नगर्न आग्रह गरेको छ।

प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चङ्गा, ड्रोन, बेलुनलगायतका वस्तु उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको हो।

कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ। यस्ता गतिविधिका कारण विमानको उडान तथा अवतरणमा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्राधिकरणले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

साथै, जारी सूचनाको अवज्ञा वा अटेर गरी त्यस्ता गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ।

नागरिक उड्डयन प्राधिकरण