



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टी संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताएका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।
उनले १५औँ महाधिवेशन कांग्रेसका लागि अग्रजहरूले देखाएको राजनीतिक आदर्श र त्यागलाई संगठनको व्यवहारमा उतार्ने अवसरसमेत भएको बताए। उनले गणेशमान सिंह कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नभई लोकतन्त्रका लागि जीवन समर्पण गर्ने साहसी र निष्ठावान् नेता भएको स्मरण गरेका छन्।
‘हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो,’ थापाले भनेका छन्।
उनले भनेका छन्, ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्। तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।’
कांग्रेसको आगामी यात्रालाई नयाँ पुस्ताको अपेक्षा र समयको मागसँग जोड्दै थापाले पार्टीलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्न आह्वान गरेका छन्। थापाले गणेशमान सिंहका राजनीतिक आदर्शलाई आत्मसात् गर्दै कांग्रेसको संगठन, नेतृत्व र व्यवहारलाई लोकतान्त्रिक मूल्यसँग जोड्नुपर्ने बताएका छन्।
‘लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरौँ,’ थापाले भनेका छन्।
गगन थापा नेपाली कांग्रेस

