Logo
९ असोज २०८३, शुक्रबार

पश्चिम नेपालमा बढ्दै वर्षाको जोखिम, ३८ जिल्ला उच्च जोखिममा

अक्षरपाटी
२०८३ असोज ९ , शुक्रबार ०३:०९ मा प्रकाशित

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्।

मौसमविद्हरूका अनुसार वर्षा गराउने उक्त प्रणाली नेपालको पूर्वी भूभागबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको छ। प्रणाली पश्चिमतर्फ सर्दै गएसँगै आगामी दिनमा पश्चिम नेपालमा वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्ने सम्भावना रहे पनि पश्चिमी भूभागमा भने शुक्रबार रातिदेखि नै वर्षा बढ्दै जाने देखिएको छ।

“पूर्वी क्षेत्रमा भोलि पानीको मात्रा केही कम हुने सम्भावना छ। पश्चिमी भूभागमा भने आज रातिदेखि वर्षा बढ्दै जाने देखिन्छ,” उनले बताए।

लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको छ। अब वर्षाको प्रभाव सुदूरपश्चिमसम्म विस्तार हुने र पश्चिमी क्षेत्रमा थप भारी वर्षा हुनसक्ने मौसमविद्हरूको पूर्वानुमान छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वतर्फका अधिकांश जिल्लालाई पहेँलो संकेतले तथा गण्डकीदेखि पश्चिमतर्फका उच्च पहाडी र हिमाली क्षेत्रका जिल्लालाई रातो संकेतले जनाइएको छ।

महाशाखाका अनुसार पहेँलो संकेतले मौसमी अवस्थाबारे निरन्तर जानकारी लिँदै सतर्क रहनुपर्ने जनाउँछ भने रातो संकेतले बाढी, पहिरोलगायतका जोखिम उच्च रहेकाले आवश्यक पूर्वतयारी तथा प्रतिकार्य गर्नुपर्ने अवस्थालाई जनाउँछ।

३८ जिल्लामा बाढीको उच्च जोखिम

निरन्तरको वर्षालाई मध्यनजर गर्दै मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न साना नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।

महाशाखाका अनुसार ९ असोजमा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेका छन्।

त्यस्तै, १० असोजमा बाढीको उच्च जोखिम क्षेत्र थप विस्तार हुने पूर्वानुमान गरिएको छ। उक्त दिन नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहने जनाइएको छ।

महाशाखाले आइतबारदेखि सातै प्रदेश हुँदै बहने साना नदी तथा खोलामा समेत आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने जनाएको छ।

यसैबीच, सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम भएका स्थानमा आइतबारसम्म उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ।

लगातारको वर्षा र पश्चिमतर्फ सर्दै गएको मौसम प्रणालीका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आधिकारिक मौसम तथा बाढी पूर्वानुमानसम्बन्धी सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम

ट्रेन्डिङ ( साप्ताहिक )