Logo
१० असोज २०८३, शनिबार

यूएन महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

अक्षरपाटी
२०८३ असोज १० , शनिबार ०६:०९ मा प्रकाशित

महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि तथा प्रतिष्ठा थप उचाइमा पुगेको सरकारको भनाइ

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्वदेश फर्किएका छन्।

असोज ६ गते कतारको दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै महासभालाई सम्बोधन गरेका थिए। भेटवार्तामा भोटेकोशी–त्रिशूली बाढी, जलवायु जोखिम, पुनर्स्थापना तथा जलवायु वित्तलगायत विषयमा छलफल भएको थियो।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई जलवायु सङ्कटको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपालका लागि जलवायु परिवर्तन मानवीय तथा विकासकै ठूलो चुनौती बनेको बताएका थिए। उनले विकसित मुलुकले थप जिम्मेवारी लिनुपर्ने तथा हानि तथा नोक्सानी कोषसहितका जलवायु वित्तीय संयन्त्रबाट अनुदानमा आधारित स्रोत परिचालन सहज बनाउन आग्रह गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्युयोर्कस्थित नेपाली स्थायी नियोगका विभिन्न कार्यक्रम तथा ब्रिफिङमा सहभागिता जनाएका थिए। परराष्ट्र मन्त्रालयले भ्रमणबारे गरेको प्रेस ब्रिफिङमा निमित्त परराष्ट्र सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिता रहेको र यसबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि तथा प्रतिष्ठा थप उचाइमा पुगेको बताए।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घ

ट्रेन्डिङ ( साप्ताहिक )