



नवलपरासी । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीबाट करिब १७० घरधुरी प्रभावित भएका छन्।
थारुटोल, सैनिकटोल, पहाडीटोल र बड्काटोलमा बाढी पसेपछि प्रहरीले जोखिममा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासहित ४ सयभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
नदीको बहाव बढिरहेको भन्दै प्रहरीले थप जोखिममा रहेका स्थानीयलाई समेत सुरक्षित स्थानमा सार्ने काम गरिरहेको जनाएको छ। उद्धार गरिएकाहरूलाई विपद् व्यवस्थापन भवनमा राखिएको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय सुस्ताको परिसरसमेत डुबानमा परेको छ। कार्यालयमा रहेका हातहतियार तथा अन्य सामग्रीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली विपद् उद्धार सामग्रीसहित परिचालन भएका छन्। हालसम्म बाढीबाट मानवीय तथा पशुचौपायामा क्षति भएको विवरण आएको छैन।
नवलपरासी सुस्तामा बाढी

