Logo
२० असोज २०८३, मंगलबार

महामन्त्रीको उम्मेदवारीपछि महरको भावुक शन्देश : महाकालीको किनारदेखि कांग्रेस महामन्त्रीको दौडसम्म

अक्षरपाटी
२०८३ असोज २० , मंगलबार ०५:१० मा प्रकाशित

काठमाडौं । ‘उम्मेदवारी दर्ताको कागजमा नाम लेख्ने त्यो क्षण केही सेकेन्डको थियो। तर, त्यो क्षणमा बितेका कैयौँ वर्ष एकैपटक मेरो मानसपटलमा फर्किए’ काँग्रेसको जारी १५औँ महाधिवेशनमा नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएपछि भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्।

डडेल्धुराका उकाली–ओराली। महाकालीको किनार। विद्यार्थी जीवनका ती दिन, जहाँ राजनीति कुनै पद प्राप्त गर्ने भर्‍याङ थिएन। बरु समाज बदल्न सकिन्छ भन्ने विश्वास थियो उनका लागि।

महामन्त्रीमा उम्मेदवारी दर्ता गर्दै महरले आफ्नो राजनीतिक यात्राको एउटा अर्को अध्याय सुरु गरेका हुन्। तर, उनको नजरमा यो केवल पदको प्रतिस्पर्धा होइन, कांग्रेसले अब आफूलाई कुन दिशामा लैजाने भन्ने बहसको एउटा महत्वपूर्ण मोड हो।

उम्मेदवारी दर्तापछि सार्वजनिक गरेको लामो सन्देशमा महरले आफ्नो व्यक्तिगत राजनीतिक यात्राभन्दा कांग्रेसको विगत, वर्तमान र भविष्यलाई केन्द्रमा राखेका छन्। उनको स्मृतिमा सबैभन्दा पहिले डडेल्धुरा आउँछ। त्यसपछि महाकाली। अनि विद्यार्थी राजनीति।

समयसँगै बाटाहरू फेरिए। जिम्मेवारी थपिँदै गए। नयाँ मानिस भेटिए। पुराना समेटिँदै गए। अनुभव गहिरिँदै गयो। तर एउटा विश्वास भने नफेरिएको उनी बताउँछन्- ‘राजनीति मानिसको जीवनसँग जोडिएको जिम्मेवारी हो।’

स्मृतिमा कांग्रेसको लामो यात्रा

उम्मेदवारी दर्ता गर्ने क्रममा महरले आफूलाई मात्र सम्झिएनन्। कांग्रेसका ती असंख्य अनुहार सम्झिए, जसको नाम पार्टीको इतिहासका ठूला तस्विरमा नअटाए पनि जसको श्रम र निष्ठाले कांग्रेस निर्माण भयो।

जेल र निर्वासन भोगेका अग्रज। अभाव र संघर्षमा पार्टी जोगाएका कार्यकर्ता। गाउँका चौतारामा बैठक बस्नेहरू। चुनाव नहुँदा पनि घरमा कांग्रेसको झन्डा जोगाएर राख्नेहरू। अवसर नपाउँदा पनि पार्टी नछाड्नेहरू- उनले तीं सबै सबैलाई स्मरण गरेका छन्। महरका लागि कांग्रेसको इतिहास यिनै मानिसहरूको कथा हो।

त्यसैले महामन्त्रीको उम्मेदवारी उनका लागि केवल एउटा पदमा पुग्ने प्रयासभन्दा फराकिलो भएको लेखेका छन्। उनी कांग्रेसको पुरानो राजनीतिक संस्कार र बदलिँदो समयबीच पुल बन्ने आवश्यकता औँल्याउँछन्। त्यो पुल बन्न आफूले उम्मेदवारी दिएको पनि उनले स्पस्ट पारेका छन्।

पुरानो कांग्रेस र नयाँ पुस्ताबीच पुल

आजको कांग्रेससामु एउटा नयाँ पुस्ता उभिएको छ। संसारसँग प्रत्यक्ष जोडिएको। प्रश्न गर्ने। प्रमाण खोज्ने। छिटो निर्णय चाहने। देशभित्रै अवसर खोज्ने। राजनीतिबाट भाषण होइन, उत्तर माग्ने।

महरको बुझाइमा यो पुस्तालाई केवल चुनावको बेला सम्झिएर पुग्दैन। यसको आवाज पार्टीको निर्णय प्रक्रियामै पुग्नुपर्छ। अग्रजको अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच संवाद आवश्यक रहेको उनको भनाइ छ।

‘एउटा पुस्ताको सम्मान जोगाउँदै अर्को पुस्ताको बाटो काेर्न सकियो भने कांग्रेसको इतिहास र भविष्य एउटै धारमा जोडिन सक्छ,’ उनले भनेका छन्।

उनको राजनीतिक सन्देशको एउटा महत्वपूर्ण पक्ष यही हो- अग्रजलाई विस्थापित गरेर नयाँ पुस्ता होइन, अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर कांग्रेसको नयाँ यात्रा आजको आवश्यकता हो।

महरले कांग्रेसको आगामी चुनौतीलाई संगठनभित्र मात्र सीमित राखेका छैनन्। उनी पार्टी र नागरिकबीचको दूरीलाई पनि गम्भीर विषयका रूपमा प्रस्तुत गर्न चाहन्छन्। किसानसँग कुरा गर्दा उत्पादनको पीडा सुन्नुपर्ने उनको भनाइ छ।

विदेशिन लागेको युवासँग कुरा गर्दा उसले देश छाड्नुअघि गरेका प्रयास बुझ्नुपर्नेछ। उद्यमीको समस्या, श्रमिकको पसिना, महिलाको संघर्ष, सुदूर गाउँको नागरिकको पीडा, मध्यमवर्गीय परिवारको असुरक्षा र नयाँ पुस्ताको बेचैनी- यी सबै राजनीतिका विषय बन्नुपर्ने महर बताउँछन्।

उनको निष्कर्ष स्पष्ट छ- जनजीवनबाट टाढिएको राजनीतिले विस्तारै अर्थहीन बन्छ र त्यसले फेरि अर्को विद्रोह मात्रै जन्माउँछ। त्यसैले उनले कांग्रेसलाई फेरि ‘सुन्ने पार्टी’ बनाउनुपर्ने आवश्यकता भएको औँल्याएका छन्।

गुमेको विश्वास फर्काउने चुनौती

महरको उम्मेदवारीपछिको सन्देशमा आत्मसमीक्षाको आवाज पनि समेटिएको छ। उनले जनताको विश्वास स्थायी सम्पत्ति नभएको बताएका छन्। एकपटक प्राप्त गरेको समर्थन सधैँ साथ रहन्छ भन्ने राजनीतिक भ्रमबाट कांग्रेस बाहिरिनुपर्ने उनको आसय छ।

कांग्रेसबाट टाढिएका नागरिकको मनमा कुनै न कुनै कारण रहेको उनको बुझाइ छ। त्यो कारण कतै निराशा, कतै उपेक्षाको अनुभूति, कतै नयाँ सम्भावनाको खोजी भएको उनको बुझाइ छ।

त्यसैले अब कांग्रेसले केवल ‘किन टाढिए?’ भनेर प्रश्न गर्ने होइन, ‘हामीले के बदल्नुपर्छ?’ भनेर आत्मसमीक्षा गर्नुपर्ने महरको सन्देश छ। उनका शब्दमा, विश्वास फेरि कमाउन सकिन्छ। तर त्यसका लागि व्यवहार, संगठन, निर्णय र परिणाममा परिवर्तन देखिनुपर्छ।

प्रतिस्पर्धाभन्दा सम्बन्ध महत्वपूर्ण

कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा र मतभेदलाई पनि महरले आफ्नो उम्मेदवारीपछिको सन्देशमा स्थान दिएका छन्। उनले पार्टीभित्र दूरी रहेको स्वीकार गरेका छन्। फरक राजनीतिक निष्कर्ष छन्। मन दुखेका छन्। तर यी सबैभन्दा माथि कांग्रेसको साझा इतिहास भएको उनको भनाइ छ। लोकतान्त्रिक पार्टीभित्र असहमति हुनु स्वाभाविक भए पनि संवाद निरन्तर हुनुपर्ने उनी बताउँछन्।

‘प्रतिस्पर्धापछि पनि सम्बन्ध जोगिनुपर्छ,’ महरको सन्देशमा उल्लेख छ। उनका लागि कांग्रेसको एकता भनेको एउटै मतमा सबैलाई बाँध्नु होइन। फरक मत राख्ने कांग्रेसजनले पनि पार्टीलाई आफ्नै घर ठान्न सक्ने वातावरण बनाउनु हो।

महामन्त्रीको दौडमा एउटा ठूलो प्रश्न

महरले आफ्नो उम्मेदवारीलाई व्यक्तिको चयनसँग मात्र जोडेका छैनन्। उनको बुझाइमा १५औँ महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने अवसर पनि हो। सरकारमा हुँदा उत्तरदायी, प्रतिपक्षमा हुँदा सशक्त, राष्ट्रिय संकटमा व्यापक दृष्टिकोण र लोकतन्त्र तथा संविधानको पक्षमा स्पष्ट उभिने कांग्रेस आवश्यक रहेको उनी बताउँछन्।

कांग्रेसले आफूलाई समयअनुकूल बदल्न सक्छ कि सक्दैन? नयाँ पुस्ताले विश्वास गर्न सक्ने काँग्रेस बन्न सक्छ कि सक्दैन? अग्रजको योगदानको सम्मान गर्दै नेतृत्वको नयाँ ढोका खोल्न सक्छ कि सक्दैन? जनताबाट टाढिएको सम्बन्ध पुनः जोड्न सक्छ कि सक्दैन? महरले आफ्ने उम्मेदवारी यिनै प्रश्नको वरिपरि रहेको पनि बताउन खोजेका छन्।

राजनीतिक यात्रालाई महाकालीको प्रतीक

डडेलधुराको किनार छेउमै हुर्किएका महरले आफ्नो राजनीतिक यात्रालाई महाकाली नदीसँग तुलना गर्दै निरन्तर बहावको प्रतीकका रुपमा प्रस्तुत गरेका छन् । नदीको बाटोमा चट्टान भेटिन्छ। कहिलेकाहीँ कतै मोडिन्छ। कतै साँघुरिन्छ त कतै फैलिन्छ। तर पनि रोकिँदै, अघि बढिरहन्छ।

राजनीतिमा पनि समयसँगै बाटा बदलिन सक्ने, परिस्थिति बदलिन सक्ने तर सार्वजनिक जीवनको मूल उद्देश्य नबदलिने उनको भनाइ छ। यही बिम्बमार्फत महरले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षाभन्दा लामो यात्राको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेस नैनसिंह महर

ट्रेन्डिङ ( साप्ताहिक )