


एजेन्सी। भारतीय दिग्गज अभिनेता नाना पाटेकरको निधनले भारतमा शोक छाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित केन्द्रीय मन्त्री नितिन गडकरी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तलगायतले नाना पाटेकरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मोदीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री नरेन्द्र मोदीले नाना पाटेकरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नाना पाटेकरजस्तो सबल, मौलिक र दमदार अभिनय भएको अभिनेता निकै कम हुने बताएका छन्। उनले हरेक भूमिकामा पाटेकरले अद्भुत अभिनय र सिर्जनशीलता प्रस्तुत गरेको स्मरण गर्दै उनको अभिनय पुस्तौँसम्म स्मरण गरिने उल्लेख गरेका छन्।
पाटेकरको स्पष्ट र निर्भीक विचारको प्रशंसा गर्दै मोदीले पाटेकरलाई आफ्नो कुरा राख्न कहिल्यै नहिच्किचाउने अभिनेताका रुपमा चित्रित गरेका छन्। मोदीले हिन्दी तथा मराठी सिनेमामा नाना पाटेकरको योगदान ठूलो रहेको उल्लेख गर्दै उनको निधनले ठूलो रिक्तता महसुस भएको बताएका छन्। मोदीले पाटेकरका परिवार, साथीभाइ तथा असंख्य प्रशंसकप्रति समवेदना व्यक्त गर्दै ‘ॐ शान्ति’ भनेका छन्।
मुख्यमन्त्री योगी आदित्यनाथद्वारा श्रद्धाञ्जली व्यक्त
प्रसिद्ध अभिनेता, सशक्त थिएटर कलाकार तथा संवेदनशील समाजसेवी पद्मश्रीद्वारा विभूषित नाना पाटेकरको निधन कला क्षेत्रका लागि अपूरणीय क्षति भएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन्।
आफ्नो उत्कृष्ट अभिनयमार्फत उनले भारतीय सिनेमालाई समृद्ध बनाएको तथा सामाजिक सरोकारका माध्यमबाट समाजप्रतिको आफ्नो प्रतिबद्धता र जिम्मेवारी पनि प्रस्तुत गरेको योगीले उल्लेख गरेका छन्।
‘भगवान् श्रीरामले दिवंगत आत्मालाई आफ्ना श्रीचरणमा स्थान दिऊन् र शोकसन्तप्त परिवार तथा प्रशंसकलाई यो दुःख सहने शक्ति प्रदान गरून्’ भन्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नितिन गडकरीद्वारा शोक व्यक्त
भारतीय फिल्म जगतका दिग्गज अभिनेता नाना पाटेकरको निधनको खबर अत्यन्त स्तब्ध पार्ने र हृदयविदारक भएको केन्द्रीय मन्त्री नितिन गडकरीले बताएका छन्। उनले नाना पाटेकरप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूबीच निकै घनिष्ठ र मित्रवत् सम्बन्ध रहेको उल्लेख गरेका छन्।
दमदार अभिनयमार्फत नाना पाटेकरले पाँच दशकभन्दा लामो समयसम्म मराठी र हिन्दी सिनेमाका दर्शकको मनमा राज गरेको गडकरीले स्मरण गरेका छन्। आफ्नो विशिष्ट शैलीमा संवाद बोल्ने कलामार्फत उनले चलचित्रका थुप्रै पात्रलाई अविस्मरणीय बनाउँदै छुट्टै पहिचान कायम गरेको गडकरीको भनाइ छ।
‘नाम फाउन्डेसन’मार्फत महाराष्ट्रका ग्रामीण क्षेत्रमा जल संरक्षण तथा वाटरशेड व्यवस्थापनका क्षेत्रमा पाटेकरले गरेको काम महत्वपूर्ण र उल्लेखनीय रहेको गडकरीले स्मरण गरेका छन्। आत्महत्या गरेका किसानका परिवारलाई उनले गरेको सहयोग धेरै परिवारका लागि ठूलो सहारा बनेको पनि उनले उल्लेख गरेका छन्।
नाना पाटेकर केवल उत्कृष्ट कलाकार तथा अभिनेता मात्र नभई समाजसेवीका रुपमा रहेको गडकरीले बताएका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ‘ॐ शान्ति’ भनेका छन्।
गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्त
दिग्गज अभिनेता नाना पाटेकरको निधनको खबरले आफूलाई गहिरो दुःख र स्तब्धता भएको गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले बताएका छन्। थिएटर, हिन्दी तथा मराठी सिनेमामा उनको शानदार यात्रा, दमदार अभिनय र अद्वितीय कलाकारीताले भारतीय सिनेमामा अमिट छाप छाडेको सावन्तले उल्लेख गरेका छन्।
नेपालका प्रशंसक दु:खी
अदभूत कलाका धनी तथा जिवन्त अभिनयको अमिट छाप छोडेका नानाकाे निधनले उनका नेपाली प्रशंसक समेत दु:खी बनेका छन्। विभिन्न मिडया, सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली दिने क्रम बढेको छ।
धेरैले उनलाई दिग्गज कलाकार, अब्बल अभिनेता, वास्तविक जीवनको एक ऐनाका रुपमा उनलाई व्याख्या गरिएको छ।
नाना पाटेकर

