Logo
२७ असोज २०८३, मंगलबार

खगेन्द्र सुनारको सार्वजनिक हैसियत निलम्बित, आन्तरिक छानबिन सुरु

अक्षरपाटी
२०८३ असोज २७ , मंगलबार ०९:१० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको उल्लेख गरिएको छ।

रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा उल्लेख छ।

छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक

पार्टीले आन्तरिक अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको छ।

त्यस्तै, सार्वजनिक भएका विषयहरूको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ।

राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत रास्वपाले जनाएको छ।

कानुनबमोजिम थप कदम चाल्ने

रास्वपाले ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पार्दै पार्टीले अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय लिने जनाएको हो।

खगेन्द्र सुनार