


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिमस्टेक क्षेत्रको सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउँदै अन्तरदेशीय अपराध नियन्त्रण र जलवायुजन्य विपद् व्यवस्थापनमा सदस्य राष्ट्रबीच समन्वय आवश्यक रहेको बताएका छन्।
भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आतंकवाद, लागूऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध क्षेत्रीय सुरक्षाका प्रमुख चुनौती रहेको बताएका हुन्।
उनले यस्ता अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच प्रभावकारी सूचना आदानप्रदान, प्रविधि तथा अनुभवको साँटासाट र समन्वयात्मक प्रतिकार्य आवश्यक रहेको बताए। अपराध नियन्त्रणसम्बन्धी नीति, योजना र घोषणाको समयमै कार्यान्वयन गर्दै सुरक्षित सूचना आदानप्रदान र क्षेत्रीय सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
बिमस्टेक स्थापना भएको २९ वर्षपछि पहिलोपटक आयोजना गरिएको गृहमन्त्रीस्तरीय बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउने प्रतिबद्धतासहित ‘दिल्ली घोषणापत्र’ जारी गरेको छ।
बैठकमा सहभागी गृहमन्त्री गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्री रहेको उल्लेख गरिएको छ। उनले पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई क्षेत्रीय सुरक्षा सहकार्यको संस्थागत विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै बैठक आयोजना गर्ने भारत सरकार, भारतीय गृहमन्त्री अमित शाह तथा बिमस्टेक सचिवालयप्रति आभार व्यक्त गरे।
क्षेत्रीय संयन्त्रको प्रस्ताव
गृहमन्त्री गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई बिमस्टेक सदस्य राष्ट्रको साझा चुनौतीका रूपमा प्रस्तुत गरेका थिए। नेपालले पछिल्ला दुई महिनामा भोटेकोशी, मनाङ–मुस्ताङ तथा गोरखाको बूढीगण्डकी क्षेत्रमा भोगेका बाढीका घटनाले विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्यको आवश्यकता थप उजागर गरेको उनले बताए।
उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्नुपर्ने र हिमालदेखि समुद्रसम्मका फरक भौगोलिक अवस्थाका विपद्मा प्रभावकारी रूपमा परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न आवश्यक रहेको बताए।
अमित शाहसँग द्विपक्षीय छलफल

बैठककै क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारतबीचका साझा सुरक्षा चासो तथा सहकार्यका विषयमा छलफल भएको थियो। भेटका क्रममा गुरुङले नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका क्रममा भोग्नुपरेका प्राविधिक समस्याबारे समेत भारतीय समकक्षीको ध्यानाकर्षण गराएको बताइएको छ। उक्त विषयमा भारतीय गृहमन्त्री शाहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक

