Logo
३ कात्तिक २०८३, सोमबार

टाइगर श्रॉफमाथि गोली प्रहार, बन्दुक जाम हुँदा जोगिए !

अक्षरपाटी
२०८३ कात्तिक ३ , सोमबार १०:१० मा प्रकाशित

मुम्बई। बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ। आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा फुटबल मैदानबाट बाहिरिने क्रममा उनको बीएमडब्ल्यू कारलाई लक्षित गरी दुई जना आक्रमणकारीले गोली चलाएका थिए।

सार्वजनिक भएको नयाँ भिडियोमा दुई जना आक्रमणकारी कारको अगाडि तथा झ्याल नजिकै पुगेर अभिनेता टाइगरमाथि गोली प्रहार गरिरहेको देखिएको जनाइएको छ।

आक्रमणकारीमध्ये एक जना टाइगर बसेको कारको झ्यालसम्मै पुगेर थप गोली चलाउने कोसिस गरे पनि उसको बन्दुक अचानक जाम भएको थियो। बन्दुकमा आएको प्राविधिक खराबीका कारण थप गोली चलाउन नसक्दा टाइगर सम्भावित आक्रमणबाट जोगिएको बताइएको छ।

घटनामा टाइगरलाई कुनै चोटपटक नलागेको जनाइएको छ। घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि आक्रमणको प्रयासबारे थप विवरण बाहिर आएको हो। मुम्बई प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको र हमलावरहरूको पहिचान तथा आक्रमणको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

घाइते चालक बचाउन टाइगर आफैं स्टेयरिङ सम्हाले

गोलीबारीपछि टाइगर श्रॉफको कारका चालक फिरदौस गम्भीर घाइते भएका छन्। गोली लागेपछि रगताम्य भएका चालक कारबाट बाहिर निस्किएर भागेका थिए। यही क्रममा घटनास्थलमा मोटरसाइकल स्टार्ट गरेर तयारी अवस्थामा रहेका अर्का एक सहयोगीसहित आक्रमणकारी फरार भएको बताइएको छ।

घटनापछि सार्वजनिक भएको अर्को भिडियोमा चालक बाहिरिएलगत्तै टाइगर श्रॉफ यात्रु सिटबाट तत्काल चालकको सिटमा पुगेको देखिन्छ। घाइते चालकलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउने उद्देश्यले टाइगर आफैंले कार चलाएको भिडियोमा देखिएको छ।

गोलीबारीपछि कार तथा सडकमा रगत देखिएपछि घटनास्थलमा रहेका मानिसहरूबीच त्रास फैलिएको थियो। आसपासका मानिसहरू चिच्याउँदै भागदौड गरेको र एक महिलाले घाइतेलाई तत्काल अस्पताल लैजान टाइगरसँग आग्रह गरेको भिडियोमा सुनिएको छ।

घाइते चालकलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलनजिकै रहेका अर्का एक व्यक्ति पनि घाइते भएको जनाइएको छ। घटनापछि प्रहरीले आक्रमणकारीको खोजी तथा घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।

बिश्नोई ग्याङले लियो जिम्मेवारी

टाइगर श्रॉफमाथि भएको गोली प्रहारको घटनापछि सार्वजनिक भएको एक अडियो क्लिपमा लरेन्स बिश्नोई ग्याङसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरिएको छ।

अडियोमा पण्डितले टाइगर श्रॉफलाई यसअघि पटक–पटक चेतावनी दिइए पनि उनले त्यसलाई बेवास्ता गरेको दाबी गरेका छन्। अभिनेता सलमान खानसँग काम गरिरहेका कारण टाइगरलाई निशाना बनाइएको उनको भनाइ रहेको जनाइएको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राज्य सरकारले घटनाप्रति गहिरो चासो देखाएको छ। सरकारले बिश्नोई ग्याङविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण संकलन गर्दै आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको छ।

अभिनेता टाइगर श्राफ