


काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीसहित तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक पूर्वानुमानअनुसार कम्तीमा २९ जिल्ला प्रभावित हुन सक्ने र केही स्थानमा भारी वर्षा हुने जोखिम छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलको मौसम विश्लेषणअनुसार कात्तिक १२ देखि १५ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने उनले सार्वजनिक गरेको जोखिम नक्सामा उल्लेख छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने प्रारम्भिक आकलन गरिएको छ। भारतको आन्ध्र प्रदेश आसपास विकसित भइरहेको प्रणाली नेपालतर्फ अघि बढ्ने क्रममा बिहीबार रातिदेखि वर्षाको गतिविधि थप बढ्न सक्ने अनुमान छ।
२९ जिल्लामा बढी जोखिमको आकलन
डा. पोखरेलले सार्वजनिक गरेको जोखिम नक्सामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम देखाइएको छ। यद्यपि, यो प्रारम्भिक पूर्वानुमान भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र प्रभावित हुने क्षेत्र परिवर्तन हुन सक्ने उनले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। तर वर्षाको मात्रा र जोखिम क्षेत्रबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
डा. पोखरेलका अनुसार दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ। बंगालको खाडीमा विकसित अर्को न्यून चापीय प्रणाली नेपालतर्फ अघि बढ्ने क्रममा छ। यसबाहेक पश्चिमी वायुको प्रभावसमेत कायम रहेकाले नेपालमा वर्षाको सम्भावना बढ्न सक्ने देखिएको छ।
बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको अवस्थाले समेत वर्षाको तीव्रतामा प्रभाव पार्न सक्ने मौसमविद्हरूको विश्लेषण छ।
तराईमा डुबान, पहाडमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम
सम्भावित वर्षाका कारण तराईका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम हुन सक्ने मौसमविद्हरूले बताएका छन्। मनाङसहित हिमाली क्षेत्रमा पनि भारी वर्षाको सम्भावना देखिएकाले मौसमको अवस्थालाई गम्भीरतापूर्वक अनुगमन गर्नुपर्ने डा। पोखरेलको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा विकसित प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ आउने सम्भावना छ। यसले पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा गराउनुका साथै हिमाली क्षेत्रमा भारी हिमपात गराउन सक्ने अनुमान छ।
धान नकाट्न र लामो दूरीको यात्रा नगर्न सुझाव
सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै मौसमविद्हरूले धान काट्ने तथा भित्र्याउने काम केही दिनका लागि स्थगित गर्न सुझाव दिएका छन्। दशैंपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान पनि आग्रह गरिएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायले कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, बाली काट्ने तथा भित्र्याउने काम र पदयात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान

