Logo
११ कात्तिक २०८३, बुधबार

नेपाल–भारत सीमा सुरक्षामा नयाँ सहकार्यको पहल : १०औँ समन्वय बैठक सुरु

अक्षरपाटी
२०८३ कात्तिक ११ , बुधबार ०५:१० मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ नेपाल–भारत समन्वय बैठक बुधबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सुरु भएको छ।

कात्तिक ११ गते अर्थात आज सुरु भएको बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलसहित दुवै सुरक्षा निकायका अधिकारी सहभागी छन्।

बैठकमा नेपाल–भारत सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने, सीमापार आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ।

शुक्रबारसम्म चल्ने बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान बिभाग तथा नापी बिभागका प्रतिनिधिहरु सहभागी छन्।

त्यस्तै भारतको तर्फबाट पनि गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरु सहभागी छन्।

बैठकमा दुवै सुरक्षा निकायबीच आपसी सूचना आदानप्रदान, समन्वय तथा सुरक्षा कारबाहीमा सहकार्य थप सुदृढ बनाउने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।

बैठकले नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न दुवै देशका सीमा सुरक्षा निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने साझा प्रतिबद्धता दोहोर्‍याएको छ।

नेपाल–भारत सीमा सुरक्षा १०औँ नेपाल–भारत समन्वय बैठक

ट्रेन्डिङ ( साप्ताहिक )