Logo
१८ कात्तिक २०८३, बुधबार

हवाई सम्पर्क विस्तार र पर्यटन लगानीमा जोड, डब्ल्यूटीएममा मन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता

अक्षरपाटी
२०८३ कात्तिक १८ , बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि र पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पर्यटनमन्त्री खडक राज पौडेल ‘गनेस’ले विभिन्न देशका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्।

लन्डनमा जारी विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ का क्रममा भएको भेटवार्तामा नेपाल र सम्बन्धित मुलुकबीच पर्यटन सहकार्य विस्तार, नयाँ हवाई गन्तव्य थप्ने, पर्यटक आवागमन बढाउने तथा निजी क्षेत्रबीच व्यावसायिक साझेदारी बढाउने विषयलाई प्राथमिकता दिइएको हो।

मन्त्री पौडेलले भारतका पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, यूएईका अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलङ्काका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतकी राज्यसभा सदस्य सुधा मूर्तिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

भेटमा नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपाललाई सुरक्षित, आकर्षक र प्रतिस्पर्धी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

डब्ल्यूटीएममा नेपालले हिमाली तथा साहसिक पर्यटनसँगै सांस्कृतिक, आध्यात्मिक र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिरहेको छ। सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’का रूपमा प्रवर्द्धन गर्ने तयारीबारे समेत अन्तर्राष्ट्रिय बजारमा जानकारी गराइएको छ।

मन्त्री पौडेलको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि डब्ल्यूटीएममा सहभागी छन्। ३२ नेपाली पर्यटन कम्पनीले नेपाल प्याभिलियनबाट पर्यटकीय गन्तव्य, सेवा तथा उत्पादनको प्रवर्द्धन गरिरहेका छन्।

यसैबीच, बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनःस्थापना जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्यहरू खुला रहेको सन्देश नेपालले अन्तर्राष्ट्रिय बजारमा दिएको छ।

पर्यटन पर्यटनमन्त्री खडक राज पौडेल

ट्रेन्डिङ ( साप्ताहिक )