Logo
२० कात्तिक २०८३, शुक्रबार

किन भेटे राष्ट्रपतिलाई सभामुख अर्यालले ?

अक्षरपाटी
२०८३ कात्तिक २० , शुक्रबार ०१:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्।

सभामुखले संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन तथा आगामी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) सम्मेलनका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको आईपीयूअन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

त्यस क्रममा तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले जानकारी दिए।

भेटवार्ताको अर्को महत्वपूर्ण विषय संसद्को अधिवेशन आह्वान र संसद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषय थियो।

सभामुख अर्यालले राजनीतिक दलहरूसँग भएको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपतिलाई गराए।

यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीहरूसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि अर्यालले जानकारी गराए।

भेटमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने धारणा राखेका थिए।

संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरिरहेका कामकारबाहीका विषयमा समेत चासो राखेका थिए।

सभामुख अर्याल र राष्ट्रपति पौडेलबीच भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल सभामुख डीपी अर्याल