




काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको कहालीलाग्दो माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन्।
छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु बोकेको माइक्रोबस भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खस्दा १० जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै लामिछानेले एउटै बस्ती र टोलका नागरिकले एकैपटक ज्यान गुमाउनुपरेको घटनालाई अकल्पनीय बज्रपात भनेका छन्। उनले घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन्।
उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। घाइते पाँचै जनाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
लामिछानेले घाइतेहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।


