




विशाखापट्टनम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच नेपाल–भारत व्यापार तथा औद्योगिक सहकार्यका विषयमा द्विपक्षीय छलफल भएको छ।
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा आयोजित ३१औँ साझेदारी शिखर सम्मेलन–२०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, व्यापार तथा पारवहन, गुणस्तर प्रमाणीकरण, लगानी प्रवर्द्धन र औद्योगिक सहकार्यलगायतका विषयमा छलफल भएको हो।
भेटमा मन्त्री साहले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न भारतीय पक्षसँग आग्रह गरेका हुन्।
नेपाली उत्पादनलाई भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने गरी लागेका शुल्कको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण र भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणपत्र प्राप्त गर्नुपर्ने प्रक्रियामा देखिएका जटिलता पनि भारतीय समकक्षीसमक्ष राखे।
सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सरल, सहज र समयबद्ध बनाउन उनले आग्रह गरे।
परीक्षण प्रयोगशाला नेपालमै स्थापना गर्न भारत सकारात्मक
भेटवार्ताको महत्वपूर्ण उपलब्धिका रूपमा नेपालमै भारतीय मानक ब्युरोका मापदण्डअनुसार परीक्षण गर्न सकिने प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीय पक्ष सकारात्मक देखिएको छ।
भारतीय मन्त्री गोयलले यस विषयलाई अघि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई आवश्यक समन्वय र प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण तथा प्रमाणीकरण सुविधा उपलब्ध भए नेपाली उद्योगले भारतमा निर्यात गर्दा व्यहोर्नुपर्ने अतिरिक्त परीक्षण खर्च, समय र प्रक्रियागत झन्झट घट्ने अपेक्षा गरिएको छ।
यसबाट नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता र निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
पारवहनदेखि व्यापार सन्धिसम्मका विषय
छलफलमा नेपालका लागि भारतका धाम्रा (ओडिशा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने विषय पनि उठाइएको थियो।
त्यस्तै, नेपाल–भारत व्यापार सन्धिको पुनरावलोकन प्रक्रिया अघि बढाउने तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्धा मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अतिरिक्त भारवहन प्रतिबन्ध र ढुवानीसम्बन्धी अवरोध हटाउने विषयमा पनि छलफल भएको छ।
कोलकाता बन्दरगाहमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले भाडामा लिएको जग्गाको सम्झौता नवीकरण गर्ने वा उपयुक्त वैकल्पिक जग्गा उपलब्ध गराउने विषयसमेत मन्त्री साहले उठाए।
चियादेखि कृषि उत्पादनसम्म सहज बजार पहुँचको माग
मन्त्री साहले नेपाली चियालाई भारतीय बजारमा निर्बाध प्रवेशको वातावरण बनाउन आग्रह गरे। कृषि उत्पादनको गुणस्तर परीक्षण तथा प्रमाणीकरणमा देखिएका समस्या समाधान गर्न पनि भारतीय पक्षसँग आग्रह गरिएको छ।
नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका योग्य तथा मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय सम्बन्धित निकायबाट मान्यता दिने प्रस्ताव पनि नेपालले राखेको छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधा विस्तार गर्नुपर्ने आवश्यकता पनि बैठकमा औँल्याइएको छ।
मन्त्री साहले नेपाल–भारतबीचको व्यापार सम्बन्धलाई थप सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए।
भारतीय मन्त्री गोयलले नेपालले उठाएका विषयमा सकारात्मक चासो व्यक्त गर्दै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफलमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।
भेटवार्ताले नेपाल–भारतबीचको आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, निर्यात प्रवर्द्धन र व्यापार सहजीकरणका लागि नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।
छलफलमा उठाइएका विषयलाई कार्यान्वयनमा लैजान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय पक्षसँग संस्थागत समन्वय र निरन्तर अनुगमन गर्ने जनाएको छ।
नेपाल-भारत

