




विश्व प्रहरी शिखर सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ दुबई प्रस्थान गरेका छन्।
गृहमन्त्री गुरुङ साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएईतर्फ प्रस्थान गरेका हुन्।
विश्व प्रहरी शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे उच्चस्तरीय छलफल र अनुभव आदानप्रदान हुने जनाइएको छ।
सम्मेलनमा नीतिगत छलफलसँगै विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउन्डटेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार (World Police Summit Awards) लगायतका कार्यक्रम आयोजना हुनेछन्।
यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रणजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली, भू–उपग्रह सूचना र अन्तरिक्ष सुरक्षालगायत १४ वटा विषयगत क्षेत्र सम्मेलनमा समेटिएका छन्।
नेपालको सहभागिताका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग तथा अनुभव आदानप्रदान, मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध, लागुऔषध तथा सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यस्तै, नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित अन्तर्राष्ट्रिय साझेदार संस्था पहिचान गर्ने अवसरसमेत सम्मेलनले उपलब्ध गराउने गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री गुरुङको भ्रमणले नेपाल र यूएईसहित विभिन्न मुलुकबीच सुरक्षा सहकार्य विस्तार गर्नुका साथै नेपालको सुरक्षा प्रणालीमा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्यास भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सुधन गुरुङ

