




काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
त्यस अवसरमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए।
जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी गराएका थिए।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक र नागरिक स्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल तथा सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने तय भएको छ।
बालेन शाह

