




काठमाडौं । कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित निकालेको छ।
आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो। यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, मयन यादवले २७ रन बनाउँदा बसिर अहमद १८ रनमा अविजित रहे।
बलिङतर्फ यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिए भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो। यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। उनले आफ्नो स्पेलमा तीन मेडन ओभरसमेत राखे। कुशल भुर्तेलले पनि तीन विकेट लिँदा नन्दन यादव, राशिद खान र ललित राजवंशीले एक–एक विकेट लिए।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत (ए) सँग निराश भएको थियो। उक्त खेलमा नेपाल २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोर्न बाध्य भएको थियो।
यूएईविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गरेको छ। नेपालले अब आगामी मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कप

