Logo
७ पुस २०८१, आईतबार

जाडोयाममा स्वास्थ्य : मधुमेहका बिरामीलाई मर्निङवाक घातक

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०६:१२ मा प्रकाशित

० सिर्जना राई

काठमाडौं २ पुस। देशभर तापक्रम घट्दै गएको छ। तराईँमा त हुस्सु र शितलहरका कारण कठ्याङ्ग्रीने जाडो सुरु भइसकेको छ।

घट्दो तापक्रम र आर्द्रतामा छाला, स्वासप्रश्वास, झाडापखालालगायतले स्वास्थ्यमा समस्या देखिन्छ।

डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या देखिन्छ। उनका अनुसार सुक्खा हावाका कारण आखाँ, छाला र नाकमा समस्या देखिन सक्छ।

जाडोयाममा शरीरलाई चिसोबाट बचाउनु नै रोगबाट टाढा रहने पहिलो उपाय भएको अधिकारीको भनाइ छ।

‘अधिकांश समय कोठाको तापक्रम २६ डिग्री राख्न उपयुक्त हुन्छ। तापक्रमसँगै हावाको आर्द्रताको पनि विशेष ख्याल राख्नुपर्छ’, उनी भन्छन, ‘नाक, कान, औँलाको चुच्चो संवेदेनशील हुन्छन् त्यसैले चिसो पानी प्रयोग कमै गर्नुपर्छ, भिडभाडमा हिँड्दा मास्कको प्रयोग गरे यस्ता समस्याबाट बच्न सकिन्छ।’

चिकित्सकका अनुसार चिसोमा छालासम्बन्धी समस्याबाट बच्न मोस्चराइजर र जेलयुक्त क्रिमको प्रयोग गर्न सकिन्छ। यस्तै, नाक सुक्खा हुने समस्या भएमा कोठामा खाली भाँडोमा पानी राख्दा आर्द्रता सन्तुलन हुने गर्छ।

बालबालिका र दीर्घरोगीको ख्याल

चिकित्सका अनुसार जाडोयाममा बालबालिकामा रोटा भाइरसको जोखिम हुन्छ। डा अधिकारी भन्छन, “रोटा भाइरसले विशेषतः बालबालिकामा झाडापखाला र वान्ताको समस्या धेरै देखिन्छ। स्कुले बालबालिकामा यो भाइरस छिटो सर्न सक्छ।”

स्वच्छ खानेपानीको प्रयोग नै यस भाइरसबाट बच्ने मुख्य उपाय हो। यस्तै बालबालिकालाई मौसमी फलफुल दिँदा सफा पानीले पखालेर मात्र दिनुपर्छ। स्वस्थकर खानपानमा ध्यान दिनुपर्छ।

जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने चिकित्सक बताउँछन्। डा दीपक मल्ल चिसोयाममा मधुमेहका बिरामीलाई विशेष सचेत हुन आग्रह गर्छन।

‘मधुमेहका बिरामीले हिटर र आगो ताप्नु हुँदैन। उनीहरुको छाला पातलो हुन्छ। धेरै तापक्रमले छाला पोल्ने र घाउ बनाउने जोखिम धेरै हुन्छ,’ डा मल्ल भन्छन्।

‘मर्निङवाक’ घातक

डा अधिकारी अनुसार मधुमेहका बिरामीलाई चिसोमा घाम झुल्किनु अघि मर्निङवाक घातक हुनसक्छ।

‘बिहान तापक्रम एकदमै कम हुन्छ, त्यसमाथि खाली पेटमा हिँड्नु घातक साबित हुन सक्छ,’ डा अधिकारी पनि मर्निङवाक गर्दा चिसोमा सुक्खा हावाका कारण स्वासप्रश्वासको समस्या बढन् सक्ने बताउँछन्।

‘नाकमुख ढप्प पारेर हिँड्दा वरपर ध्यान नपुग्न सक्छ। यसबाट दुर्घटनाको जोखिम समते बढ्छ’, उनले भने।

यसको विकल्पमा घरभित्रै शारीरिक व्यायाम गर्ने वा घाम लागेपछि बाहिर निस्किन डा अधिकारी सुझाव दिन्छन्।

चिसोमा न्यानो कपडा र खानाको प्रयोग गर्नुपर्छ। एउटा मात्र बाक्लो लुगाको सट्टा पातला लुगा एकमाथि अर्को लगाउँदा हावा छेक्न सक्छ।

जाडोयाम