Logo
१६ वैशाख २०८१, आईतबार

इन्द्रजात्राको शुभकामना : प्रधानमन्त्री देउवा

अक्षरपाटी
२०७९ भदौ २४ , शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

उनले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी मनाउने गरिन्छ। काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने प्रचलन छ।

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेका छन्।

इन्द्र जात्रा प्रधानमन्त्री देउवा