Logo
३० वैशाख २०८२, मंगलबार

विदेशबाट फर्केर ६५ लाख लगानीमा बाख्रापालन

अक्षरपाटी
२०७९ पुस २१ , बिहीबार ०९:०१ मा प्रकाशित

गुल्मी २१ पुस। गुल्मीमा एक दम्पतीले ६५ लाख लगानीमा बाख्रापालन सुरु गरेको छ।

छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन थालेका हुन। पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेका छन्।

पन्थ दम्पतीले ४० माउ बाख्रा पालेका छन्। उनीहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गरेका छन्।

विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेको नारायणप्रसादले बताए।

विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन।

घाँस र सुन्तला खेतीबाट वार्षिक छ लाख आम्दानी हुँदै आएको नारायणप्रसाद बताउछन्।

पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गरेका छन्।

“घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय वितेको पत्तै नलाग्दो रहेछ”, उनले भने। यसअघि कतारमा मासिक एक लाख २० हजारसम्म कमाउने गरेको नारायणप्रसादको भनाइ छ। त्यो सबै त्यागेर उनले गाउँघरमै व्यवसाय सुरु गरेका हुन्।

श्रीमान्ले विदेशमा भन्दा गाउँमै जीविकोपार्जनको नयाँ बाटो रोजेकामा पार्वती सन्तुष्ट छन्। श्रीमानको १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्न सहज भएको उनको भनाइ छ।

आधुनिक खोर, घाँस काट्नका लागि च्याँपकटर, दानाका लागि कुटानीपिसानी मिल, मूत्र व्यवस्थापन र सानाठूला बाख्राका लागि छुट्टाछुट्टै खोर बनाएर पन्थ दम्पती व्यवसायमा होमिएका हुन्। उनीहरुसँग जमुना पारी र खरी जातका स्थानीय बाख्रा छन्।

फार्मलाई छत्रकोट गाउँपालिकाले दुई लाख, कृषि ज्ञान केन्द्रले एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले एक लाख अनुदान सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा समर्पित किसानको साथमा रहेको बताए।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नका लागि योजना बनाइरहेको बताए।

बाख्रापालन