हुम्ला । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन्।
जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन्।
सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन्।
बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन्। हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका कर्णालीका हिमाली जिल्लामा सरकारले हिउँदे बिदा दिँदै आएका छन्।
जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे बिदा हुन्छ भने फागुन २ गतेबाट सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन्।
पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मङ्सिरमै जाडो बढेको थियो। तर यो हुम्लामा चिसो बढेपनि हिमपात भने भएको छैन।
जिल्लाको तापक्रम माइनसमा झरेको छ भने सदरमुकामसहित जिल्लाभरमा रहेका खानेपानीका पाइपमा बरफ जमेर धारा बन्द भएका छन्।
जिल्लामा कूल एक सय ५१ वटा सामुदायिक विद्यालय छन्। जसमा २७ वटा मावि र एक सय २४ वटा आधारभूत विद्यालय छन्।